भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढीका कारण रसुवा र नुवाकोटका आठवटा विद्यालयमा क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये सातवटा रसुवा र एउटा नुवाकोटमा रहेका छन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेका विद्यालयहरूमा सबैभन्दा बढी क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। गाउँपालिकाको टिमुरेमा रहेको टिमुरे सामुदायिक विद्यालयको भवनमा बाढीले ठूलो क्षति पुर्याएको छ।
त्यसैगरी, रसुवाकै उत्तरगया गाउँपालिकामा रहेको उत्तरगया विद्यालय पनि बाढीबाट प्रभावित भएको छ। बाढी विद्यालय क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ रहेका विद्यार्थीहरूले भागेर ज्यान जोगाएका थिए।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा पनि व्यापक भौतिक क्षति पुगेको छ। विद्यालयका भवन तथा परिसरमा हिलो र लेदो पसेको छ भने बाढीले बगाएर ल्याएका ढुङ्गा, काठलगायतका सामग्रीले विद्यालय परिसर भरिएको छ।
रसुवाको टिमुरे क्षेत्रमा रहेका तीनवटा संस्थागत र दुईवटा सामुदायिक विद्यालयमा क्षति पुगेको बताइएको छ। तीमध्ये केही विद्यालयमा बाढीले गम्भीर क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भए पनि सबै विद्यालयको नाम तथा क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।
सम्बन्धित निकायले प्रभावित विद्यालयहरूको स्थलगत निरीक्षण गरी क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जनाइएको छ।